विकास बोर्डले लघु चलचित्र प्रतियोगिता फारम खोल्यो

काठमाडौं– चलचित्र विकास बोर्डले लघु चलचित्र प्रतियोगिता आयोजना गर्ने भएको छ । मौलिक, यथार्थपरक, सन्देशमूलक, साँस्कृतिक, ऐतिहासिक, सिर्जनात्मक, कलात्मक, सामाजिक रुपान्तरण र जागरण, सचेतना, लैङ्गिक हिंसा, जातीय विभेद, कुप्रथा, राष्ट्रिय स्वाभिमान, राष्ट्रिय पहिचान तथा कला सँस्कृतिलाई संरक्षण र सम्वर्द्धन गर्ने उद्देश्यले निर्माण भएका लघु चलचित्रको प्रतियोगिता हुने भएको हो ।प्रतियोगिताबारे बोर्डले केहि दिन अगाडि सार्वजनिक सूचनासमेत प्रकाशित गरेको थियो । प्रतियोगितामा सहभागि हुनको लागि बोर्डबाट स्वीकृत ढाँचाको दरखास्त फारम भरी बि.सं. २०८० वैशाख १० गतेसम्ममा दरखास्तसहित चलचित्र बोर्डको कार्यालय अथवा ईमेल fdbnepal@gmail.com मार्फत पेश गर्नु पर्नेछ ।
प्रतियोगिताको लागि उपलब्ध भएका चलचित्रहरुमध्ये उत्कृष्ट तीन चलचित्रहरुले क्रमशः प्रथम, द्वितिय र तृतिय गरी एक लाख पचास हजार, एक लाख तथा पचहत्तर हजार रुपैयाँ प्राप्त गर्नेछन् ।पुरस्कृत चलचित्रहरुलाई बोर्डले व्यावसायिक तथा गैरव्यावसायिक रुपमा आयोजना हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरु, विशेष प्रदर्शनी आदिमा सहभागी गराउने छ ।प्रतियोगितामा सहभागि हुने चलचित्रहरु कम्तीमा ५० प्रतिशत नेपालमा नै छायांकन भएको तथा प्रतियोगि चलचित्रकर्मीहरु नेपाली भएको हुनु पर्नेछ । साथै, सूचना प्रकाशित भएको मितिले पछिल्ला तीन वर्षभित्र निर्माण भएका चलचित्रहरुले मात्र भाग लिन पाउनेछन् । ती चलचित्रहरुले चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको हुनु पर्नेछ ।सहभागिता सम्बन्धी सम्पूर्ण जानकारी बोर्डको कार्यालय वा वेवसाइट http://www.film.gov.np बाट समेत गराइनेछ ।