हलमा हेर्न छुटाएका दर्शकका लागि ‘सिनेमाघर एप’मा ‘कबड्डी ४’ हेर्न पाईने

काठमाडौं– रामबाबु गुरुङ निर्देशित फिल्म ‘कबड्डी ४’ को अब डिजिटल प्रिमियर हुने भएको छ ।कात्तिक २५ गते शुक्रवारदेखि नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा फिल्म डिजिटल प्रिमियर हुन लागेको हो ।बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच एप र फिल्म टिमले यसबारे जानकारी गराएका छन् ।यो फिल्म सिनेमाघर एपमा विज्ञापनरहित हेर्न सःशुल्क र विज्ञापनसहित हेर्न निःशुल्क दुबै तरिकाले पाइने छ ।नेपाली फिल्मको बजार अब डिजिटल पनि हो र यसलाई विकसित गर्नुपर्छ भनि निर्देशक गुरुङले हलमा हेर्न छुटाएका दर्शकका लागि लक्षित गरेर फिल्मलाई डिजिटल रिलिज गर्न लागेको बताए भने आफ्नो सिर्जना धेरैभन्दा धेरैले हेरुन् भनेर पनि ‘कबड्डी ४’ सिनेमाघरमा रिलिज गर्न लागेका कार्यक्रममा बताएका छन् ।’
सिनेमा घरका सञ्चालकमध्ये एक खगेन्द्र लामिछानेले ‘कबड्डी ४’ को प्रदर्शनसँगै एपप्रति दर्शकको आकर्षण थप बढ्ने विश्वास व्यक्त गरे । उनले अब यूट्युबभन्दा ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गरेर धेरै राम्रो आम्दानी गर्न सक्ने अवस्था आएको पनि बताए । उनले भने– ‘यूट्युबमा फिल्म रिलिज गर्ने चलन पुरानो हो । त्यसले नेपाली फिल्मलाई फाइदा पनि गर्दैन । यूट्युबमा धेरै दर्शकले त हेर्लान् त पैसा एकदमै कम आउँछ । अहिले सिनेमाघर निर्मातालाई यूट्युबभन्दा धेरै रेभिन्यू दिन सक्ने अवस्थामा पुगिसकेको छ ।’ यूट्युबमा सित्तैमा फिल्म हेरिरहेका दर्शकलाई एपमा पैसा तिरेर हेर्ने बानी बसाल्न एकदमै गाह्रो भए पनि अब एप्लिकेसनमा पैसा तिरेर फिल्म हेर्ने बानीको विकास भइरहेको बताए ।दशैंमा रिलिज भएको ‘जय भोले’ र ‘रातो टीका निधारमा’ले धेरै राम्रो कमाई गरेको उल्लेख गर्दै उनले दुई–तीन वर्षमा सिनेमाघर एपले निर्मातालाई लगानीको ४०–४५ प्रतिशतसम्म फिर्ता गर्न सक्ने विश्वास व्यक्त गरे ।
सिनेमाघर एपका टेक्निकल अफिसर सन्जिव ढकालले सबै प्रकारका मोबाईल, ट्याब्लोईड, एन्ड्रोइड टिभी, अमेजन फायर टिभीसहित सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेको र क्रोमकास्ट प्रविधिको प्रयोग गरी विभिन्न डिभाइसहरुमा पनि हेर्न सकिने जानकारी दिए । उनले सिनेमाघर एपमा उपलब्ध फिल्महरु नेपालका प्रायः डिजिटल वालेट र विदेशबाट पेपल, डेविट(क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिने बताए ।
कार्यक्रममा उपस्थित चलचित्र विकास बोर्डका सदस्य राज कटुवालले नेपालमा डिजिटल प्लेटफर्मको विकास हुनु सुखद कुरा रहेको बताउँदै यस्ता प्लेटफर्मलाई सहयोग गर्न राज्यसँगै बोर्ड पनि तयार रहेको बताए ।