सिने खबर

पाँच फिल्म भिड्न लागेको फागुन १९ मा के छ ?

avatar
Cine Desk

An editor at cineSaptahik


  • November 2, 2022
  • 115 पटक पढिएको

वर्षौंदेखि नेपाली निर्माताहरुको एउटा रोगी सिद्धान्त छ, विदेशी फिल्मदेखि भाग्ने तर नेपाली फिल्मलाई नछाड्ने । यो रोगले फिल्म क्षेत्रलाई भित्रभित्रै खोक्रो बनाइसकेको छ । फिल्महरु आ-आफैं जुधेर बस्दा न निर्माता उक्सन सकेका छन् न फिल्म क्षेत्रको मुहार फेरिन सकेको छ । लगानी डुबेर पुर्पुरोमा हात राख्न बाध्य भए पनि निर्माताहरु अर्को फिल्मसँग जुधेकोमा नै बढी रमाउने गर्छन् । 

हरेक वर्ष कुनै न कुनै मितिमा ठूला फिल्मबीच भाले जधाईं हुँदै आएको छ । यस वर्ष भने आगामी फागुन १९ गते ठूलो भिडन्त हुने देखिएको छ । यो मितिबाट कुनै निर्माता नडगमगाए ‘वर एन्ड वधु’, ‘परस्त्री’, ‘बुलाकी’, ‘छक्का पञ्जा ४’ र ‘छड्के २’ बीच भिडन्त हुनेछ । उक्त मितिमा फिल्म ‘गुलावी’ पनि रिलिज हुने चर्चा छ । तर, यो फिल्मले चर्चाका लागि मात्र फागुन १९ रोजेको बताइन्छ ।

आखिर फागुन १९ मै किन निर्माताको नजर परेको छ त ? पाँच फिल्मले एउटै मिति रोज्नुको पछाडि सामान्य कारण त पक्कै छैन । यी पाँचै फिल्म विदाको लोभमा एकै मितिमा थुप्रिएका हुन् । फागुन २२ र २३ गते फागू पुर्णिमाको सार्वजनिक विदा छ भने २४ गते नारी दिवसको विदा छ । तीन दिन सार्वजनिक विदा परेकाले फागुन १९ मा फिल्म चलाउन निर्माताहरुबीच हानाथाप भएको हो । 

फागू पुर्णिमा र नारी दिवसलाई लक्षित गरेर प्रदर्शन मिति घोषणा गरेका पाँच फिल्ममध्ये अन्तिमसम्म को-को टिकेर बस्छन्, त्यो हेर्न बाँकी छ । फिल्मका पण्डितहरु भने फागुन १९ मा ‘छक्का पञ्जा ४’ र ‘छड्के २’को मात्र भिडन्त हुने आँकलन गर्छन् । अरु फिल्म विस्तारै लाखापाखा लाग्ने अनुमान गरिएको छ । तर, अहिले कुनै निर्माताको मूड फागुन १९ छाड्ने पक्षमा देखिएको छैन । 

चाडपर्वको विदामा नेपाली फिल्मले राम्रो कमाई गरेका कयैन् उदाहरण छन् । यसपालीको दशैं र तिहारको लामो विदामा रिलिज भएका फिल्मको व्यापारले पनि यो देखाउँछ । त्यसैले फागू पुर्णिमा र नारी दिवसको विदामा निर्माताको नजर पर्नु स्वभाविक हो । तर, एउटै मितिमा भएभरका फिल्म भिड्न तयार हुनु जग हँसाउने कामबाहेक अरु केही होइन । यसले कसैलाई फाइदा गर्दैन ।

Facebook Comments